२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक सुन्तलाखेती

व्यावसायिक सुन्तलाखेती


  • मेरोभ्यूज
  • श्रावण १५, २०८२ बिहीबार

  • व्यावसायिक सुन्तलाखेती


    भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।

    यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उनी बताउँछन् ।

    “हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गरिरहेका छन्”, उनले भने, “सुन्तलालाई एक पटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।”

    वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।

    यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ ।

    सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए ।

    भोजपुर–६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए ।

    यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

    खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उनले बताए ।

    मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले बताए ।

    “कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।”


    प्रकाशित : बिहीबार , श्रावण १५ २०८२०९:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार