२०८३, कार्तिक १२ गते बिहीबार

आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण


  • मेरोभ्यूज
  • श्रावण १७, २०८२ शनिबार

  • आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

     

    तनहुँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको हो ।

    यहाँ कृत्रिम ताल, पैदलमार्ग, दृश्यावलोकन केन्द्र, ट्रि-हाउसलगायत संरचना निर्माण गरिएको छ ।

    आँधीमूललाई सौन्दर्यकरणका लागि रु. एक करोड ५० लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले यहाँ मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माण गरिएको बताए । उनले भने, “ताल निर्माण सकिएको छ । तालमा डुङ्गा शयर गर्न मिल्नेगरी व्यवस्थापन गरेका छौँ ।”

    आँधीमूलमा प्रसिद्ध मन्दिर रहेकाले धार्मिक पर्यटनलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाइ छ ।

    उनले भने, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटक आउँछन् । धार्मिक पर्यटनलाई जोडेर पर्यटन प्रवर्द्धनको प्रयास थालेका हौँ ।”

    यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु. ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै अध्यक्ष चुमालले ताल निर्माणपश्चात् पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको बताए ।

    उनले भने, “यहाँ अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँदै जानेछौँ । तालबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।” उनका अनुसार विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने योजना बनाइएको छ ।

    आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका उनले बताए ।

    समितिका अध्यक्षका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताको रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्यरूपमा काजकिरिया गर्नुपर्ने संस्कार र प्रचलन रहिआएको उनले जानकारी दिए । उनका अनुसार पोखरीका माछा मरेमा पूजारीले निकाली खाल्डो खनेर अन्त्येष्टि गरिँदै आइएको छ ।

    प्राचीनकालदेखि यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकोमा वि.सं. २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

    परापूर्वकालदेखि हरिबोधनी एकादशीका दिन फूलको डोली यहाँ विसर्जन गरिनुका साथै मन्दिर परिसरमा तोरण टाँग्ने परम्परा चलिआएको समितिका अध्यक्ष थापाले जानकारी दिए ।

    उनका अनुसार जल, जङ्गल, जमिनलाई पूँजा गर्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा यस मन्दिरमा पूजाआजा गर्दछन् ।

    यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका समितिका अध्यक्षले बताए ।

    पृथ्वीराजमार्गबाट नजिकै रहेकाले यस ठाउँ पछिल्लो समय आन्तरिक धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको उनको भनाइ छ ।

    यहाँ पुग्ने सडक कालोपत्र गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्गको दुई किलोमिटरको दूरीमा आँधीमूल पर्दछ । हालसम्म नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चुमालले जानकारी दिए ।

    यहाँ मन्दिर, २३ धारालगायत संरचना रहेको भन्दै धार्मिक पर्यटक ती संरचना र सुन्दरताका कारण आकर्षित हुने गरेका उनले बताए ।

    आँधीमूलमा ठूलो एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ । यसस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेको जनाउँदै अध्यक्ष चुमालले मन्दिरमा साउन र औँसीबाहेक सबै दिनमा पूजा हुने बताए ।

    उनका अनुसार आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ ।

    प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।


    प्रकाशित : शनिबार, श्रावण १७ २०८२०७:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार