२०८३, कार्तिक १२ गते बिहीबार

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण


  • मेरोभ्यूज
  • श्रावण २१, २०८२ बुधबार

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण

     

    गुल्मी । सत्यवति गाउँपालिका-८ भार्षेका यमबहादुर थापा यतिबेला व्यावसायिकरुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक रु. छ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

    थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन । सत्यवती-८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गरेको हो । उनले आठ रोपनी जग्गामा किबीखेती गर्दै आएको छ । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किबीका बिरुवा छन् ।

    जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष रु. चार लाखको किबी र रु. दुई लाखको किबीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो ।

    एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । शुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु. आठ लाख खर्चेर व्यावसायिकरुपमा किबीखेती गर्न शुरु गरेको हो ।

    “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उनले भने ।

    किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । “वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भने ।

    उनले उत्पादन गरेको किबी बजारमा रु. दुई सयदेखि रु. तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उनले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेको छ ।

    किबीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएको छ । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई रु. एक सय ५० देखि रु. दुई सय पर्दछ ।

    गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकता अनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

    किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा रु. एक सय बढी पर्दछ ।

    भार्षेमा पाँचवटा किबी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले दस बोटदेखि एक सय ५० बोटसम्म किबी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिकरुपमा किबीखेती गर्दै आइरहेका छन् ।


    प्रकाशित : बुधबार, श्रावण २१ २०८२०९:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार