२०८३, कार्तिक १२ गते बिहीबार

कोरियाबाट फर्केर कृषि पेशा

कोरियाबाट फर्केर कृषि पेशा


  • मेरोभ्यूज
  • श्रावण २१, २०८२ बुधबार

  • कोरियाबाट फर्केर कृषि पेशा

     

    भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका-८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेको छ । वैदेशिक रोजगारीको शिलशिलामा दस वर्ष कोरियामा बिताएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेको हो ।

    भोजपुर नगरपालिका-१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए ।

    कोरियामा देखेको खेती प्रविधिको सिपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा दस हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उनले जानकारी दिए ।

    “वैदेशिक रोजगारीको सिलसिलामा दस वर्ष कोरियामा बिताए”, कृषक थापाले भने, “त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु ।” खुर्सानीखेतीबाट वार्षिक रु. आठदेखि रु. दस लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उनको भनाइ छ ।

    गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्य अनुसारको आम्दानी लिन समस्या नरहेको उनको भनाइ छ । युवामा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सावित गर्न स्वदेश फर्केर कृषि कर्म रोजेको उनले जानकारी दिए ।

    “हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ”, उनले भने, “विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।” व्यवसायमा लाग्ने कृषकलाई अनुदानमा रकमभन्दा पनि आधुनिक औजार तथा उपकरणमा राज्यले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    युवा विदेशिएको कारण गाउँघरका धेरै खेतीयोग्य जमिन बाझिँदै गएकाले यसको सदुपयोगमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

    आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए । राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उनको भनाइ छ ।

    “स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ”, उनले भने, “पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि छ, यसमा सरोकारवाला पक्षले ध्यान दिन जरुरी देख्छु ।”

    गत वर्ष परीक्षणको रुपमा लगाएको दुई हजार बोट खुर्सानीबाट रु. तीन लाख आम्दानी गर्न सफल भएको उनले बताए । खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि यस वर्ष दस हजार बिरुवा रोपेको कृषक थापाको भनाइ छ ।

    आगामी वर्ष यसलाई थप विस्तार गरेर ४० देखि ५० हजार बिरुवा विस्तार गर्ने सोच रहेको उनले बताए ।

    कोरियामा त्यहाँको मलिकले बस्नु अनुरोध गर्दा पनि आफ्नै ठाउँमा कृषि कर्म गर्ने अठोटका साथ नेपाल फर्किएको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, श्रावण २१ २०८२०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार