२०८३, कार्तिक १२ गते बिहीबार

च्याउ, टुसा र ढकायो आम्दानीको स्रोत

च्याउ, टुसा र ढकायो आम्दानीको स्रोत


  • मेरोभ्यूज
  • श्रावण २३, २०८२ शुक्रबार

  • च्याउ, टुसा र ढकायो आम्दानीको स्रोत

     

    म्याग्दी । लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ ।

    बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो । बर्खा शुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन् ।

    अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन बोरा ढकायो टिपेर ल्याएकी छिन ।

    “होटलमा आउने पाहुनालाई चखाउन, बजारका आफन्तलाई कोशेली पठाउन ढकायोको गुन्द्रुक बनाउने, रातो च्याउ टिप्ने र टुसा भाँच्ने चलन छ,” उनले भनिन “सहरमा अत्याधिक माग भएकाले जङ्गलमा जुकाको आक्रमण सहेर खेर गइरहेको च्याउ, टुसा र ढकायो विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ ।”

    ताजा च्याउ प्रतिकेजी रु. एक हजार एक सय र ढकायोको गुन्द्रुक प्रतिकेजी रु. दुई हजारमा बिक्री हुन्छ । प्रतिमुठा टुसा रु. दुई सयका दरले बिक्री हुन्छ ।

    गुर्जा, कुइने, मङ्गले, घ्यासीखर्क, नारच्याङ, पाउद्वार, दोवा, दाना, मूना, खिवाङ, बगर, मल्कवाङ, खोरीयाको जङ्गलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ ।

    टुसा, च्याउ र ढकायोको परिकार सहरबाट आउने पाहुना र आफन्तको पहिलो रोजाइमा पर्ने गरेको खोप्रा–खयर पदमार्गमा पर्ने लरेनीका होटल ब्यवसायी लिल पुनले बताए ।

    “लेकाली खाद्य वनस्पती च्याउ, टुसा र ढकायोको माग यति छ की जङ्गलबाट ल्याउना साथ खोसाखोस हुन्छ,” उनले भनिन “जाँगर र अक्कल भएकाले जङ्गली च्याउ, टुसा र ढकायो बेचेर आम्दानी पनि गरेका छन् ।”

    रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायो कोशेलीको रूपमा लैजाने गरेका छन् ।

    अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशका ढकायो पठाउने गरेकी बताइन ।

    विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुरेन्टका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रूपमा राखिएको छ ।

    दुई हजार पाच सयदेखि तीन हजार पाच सय मिटर उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा सङ्कलन गर्ने याम असार महिना हो ।

    बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो साग आम्दानीको स्रोत बनेको मालिका गाउँपालिका–३ की शान्ति नेपालीले बताइन ।

    गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न थालेको उनले बताइन ।


    प्रकाशित : शुक्रबार, श्रावण २३ २०८२१०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार