२०८३, कार्तिक १२ गते बिहीबार

टिकोट तरकारी पकेट क्षेत्र

टिकोट तरकारी पकेट क्षेत्र


  • मेरोभ्यूज
  • श्रावण २४, २०८२ शनिबार

  • टिकोट तरकारी पकेट क्षेत्र

     

    म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो ।

    गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत एक सय ४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएको जानकारी दिए ।

    “समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारी खेती भएको छ,” उनले भने, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौँ ।”

    गाउँपालिकाको रु. ११ लाख ९९ हजार तीन सय २२ र कृषकको रु. आठ लाख ५४ हजार आठ सय ९८ गरी कुल रु. २० लाख ५४ हजार दुई सय २१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।

    आठवटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, दुई हजार चार सय मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, दुई सयवटा क्रेट, नौवटा थोपा सिँचाइ सेट, एक सय ४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र एक सयवटा सिड ट्रे वितरण गरेको छ ।

    रु. एक लाख ३५ हजारको बीउ, रु. एक लाखको शुष्म तत्व र जैविक मल, रु. एक लाखको विषादी तथा रु. ३० हजार बराबरको दुई सय किलोग्राम पिटमस वितरण गर्नुका साथै तीनदिने तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो ।

    उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती राम्रो हुने भएकोले पकेट क्षेत्र स्थापना गरेको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले जानकारी दिए । टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ ।

    दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु. छ लाख बजेट प्रस्ताव गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।


    प्रकाशित : शनिबार, श्रावण २४ २०८२०७:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार