२०८३, कार्तिक ११ गते बुधबार

सीप सिकेर स्वदेशमा उद्यमी

सीप सिकेर स्वदेशमा उद्यमी


  • मेरोभ्यूज
  • श्रावण २४, २०८२ शनिबार

  • सीप सिकेर स्वदेशमा उद्यमी

     

    भोजपुर । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ ।

    युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

    कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् ।

    विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेको छ हरि मगर (बाजेन)।

    वैदेशिक रोजगारीमा दस वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ ।

    जिल्लामा व्यावसायिकरूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याइ छ ।

    पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ ।

    स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर शुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताए ।

    लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन् ।

    शुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहणीय उद्यमी बनेको छ । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले जानकारी दिए ।

    “मैले विभिन्न देशमा गरी दस वर्ष बिताएँ”, मगरले भने, “विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।”

    आफूले सञ्चालन गरिरहेको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए ।

    गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका-७ सात धारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनले बताए ।

    ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले जानकारी दिए ।

    साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने गरेको छु, रु. ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए ।

    “मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ”, उनले भने ।

    यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ ।

    घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षकरूपमा काम गर्ने मौका पाउने मगरले बताए ।

    तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ ।

    पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ ।

    कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नहुँदा भने किसानले समस्या भोग्दै आएका छन् ।


    प्रकाशित : शनिबार, श्रावण २४ २०८२०७:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार