२०८३, कार्तिक १२ गते बिहीबार

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान


  • मेरोभ्यूज
  • श्रावण २६, २०८२ सोमबार

  • ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

     

    सुर्खेत । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

    जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती शुरु गरेका हुन् ।

    वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएको छ । कोरिया पढ्न गएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौँमा कोरियन भाषा पढाउन शुरु गरे पनि उनलाई आफ्नै माटोले तान्यो ।

    कृषि पेसामा केही गर्छु भन्ने सिर्जनासहित उनले ड्रागन फ्रुटको खेती शुरु गरेको थियो ।

    अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उनले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए ।

    अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती शुरु गरेको हो । उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए ।

    शुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार छ सय बेर्ना उत्पादनमूलक बनेका बताए । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ ।

    उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती शुरु गरेको थियो । वार्षिक रु. एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ ।

    यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए ।

    “दोस्रो सिजनको फल बजार पठाउन शुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ”, उनले भने ।

    गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु. २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिए । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब रु. ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

    “खुद्रा बजारमा प्रतिकिलो रु. चार सय र थोकमा रु. तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ”, उनले भने ।

    ड्रागनसँगै उनले कुरिलो खेती गरेको छ । चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि दस वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उनले रु. ६० हजार आम्दानी गरेको बताए । कुरिलो प्रतिकिलो रु. छ सयमा बिक्री हन्छ ।

    मौरीपालन शुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पुर्याउने योजना रहेको जानकारी दिए ।

    उनले भने, “अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ । उत्पादन प्रशस्त हुने अपेक्षा छ । यस वर्ष मौरीको घार ६० सम्म पुर्याउने तयारीमा छौँ ।”

    कृषिमा आत्मनिर्भर हुँदै गएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएको छ । उनलाई मासिक रु. १७ हजार तलब दिने गरेको अधिकारीले बताए । उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु. मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ ।

    अधिकारीजस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएकी पाँच वर्ष भयो ।

    वि.सं. २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उनले खेती गर्ने योजना बनाएको थियो ।

    वि.सं. २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे । त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो ।

    कोरोनाका कारण वीरबहादुरको वि.सं. २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएको हो ।

    रावतले छ सय ५० पोलमा दुई हजार छ सय बिरुवाबाट शुरु गरेको ड्रागन फ्रुटको खेती अहिले एक हजार चार सय पोलमा पाँच हजार छ सय बिरुवा पुगेका छन् । वार्षिक रु. तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उनले जानकारी दिए ।

    “यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन शुरु भएको छ । अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु । एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चारवटाका दरले बिरुवा रोप्ने गरिन्छ । यो फलको मूल्य अहिले केही घटेको छ, पहिलाजस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ”, उनले भने । वर्षमा रु. छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिइन ।

    उनले भनिन, “नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु. तीन लाख आम्दानी हुन्छ”, उनले भने । उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएको छ ।

    कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए ।

    उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेको छ । उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

    कृषक खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौँसम्म पठाइने गरिएको छ ।

    सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सक्ने अध्यक्ष खनालले बताए ।


    प्रकाशित : सोमबार, श्रावण २६ २०८२०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार