२०८३, कार्तिक १२ गते बिहीबार

सतरी रोपनी क्षेत्रफलमा अङ्गुरखेती

सतरी रोपनी क्षेत्रफलमा अङ्गुरखेती


  • मेरोभ्यूज
  • श्रावण २६, २०८२ सोमबार

  • सतरी रोपनी क्षेत्रफलमा अङ्गुरखेती

     

    तनहुँ । जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

    घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिकरूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।

    काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिकरूपमा अङ्गुरखेती गरिरहेको छ ।

    वि.सं. २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती शुरु गरेकोमा अहिले फार्ममा लटरम्म अङ्गुर फलेका छन् ।

    करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर लगाएको कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाको पहिलो अङ्गुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए । अङ्गुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अङ्गुरखेती प्रशंसालायक रहेको उल्लेख गरे ।

    सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु. सात सयदेखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए । अङ्गुरखेतीका लागि हालसम्म रु. एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले बताए ।

    कार्कीका अनुसार यहाँ उत्पादित अङ्गुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए ।

    वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए ।

    धादिङमा रु. ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल रु. एक हजार दुई सयमा बिक्री भइरहेको उनले उल्लेख गरे ।

    कार्कीले भने, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।” वर्षामा एक पटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ ।

    फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अङ्गुर छन् । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ ।

    यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिकरूपमा अङ्गुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।


    प्रकाशित : सोमबार, श्रावण २६ २०८२०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार