२०८३, कार्तिक १२ गते बिहीबार

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

बाँदरको समस्याको विकल्पमा कागुनोखेती


  • मेरोभ्यूज
  • श्रावण २८, २०८२ बुधबार

  • बाँदरको समस्याको विकल्पमा कागुनोखेती

     

    गण्डकी । पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् ।

    बाँदरले बर्सेनी बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् ।

    अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास संस्था आमा समूहका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन ।

    उनका अनुसार पछिल्ला वर्षमा काफलघारी क्षेत्रमा ६० रोपनीभन्दा बढी क्षेत्रफलमा कागुनोखेती हुने गरेको छ ।

    परापूर्वकालदेखि विशेषतः नेपालको पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आइएको छ । सिँचाइको सुविधा नभएको जग्गामा पनि उत्पादन हुने यो खेती कोदोबालीअन्तर्गत पर्दछ । बहुपोषणयुक्त खाद्यान्नका रुपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइन्छन् ।

    ठोस फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुन्छ ।

    मधुमेहका रोगीहरूका लागि यो बढी स्वस्थकर मानिन्छ । सिँचाइ बिना पनि राम्रो उत्पादन हुने र बाँदरले कम खाने भएकाले पहाडी भू-भागमा यसको खेतीको धेरै सम्भावना रहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    कागुनोखेतीतर्फ कृषकहरूको आकर्षणलाई दृष्टिगत गर्दै महानगरपालिकाले यसको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु. एक सय वीस निर्धारण गरिएको उनले बताए ।

    -----

    पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

    म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदीदेखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । पौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ ।

    होमस्टे सञ्चालकसमेत रहेका टिकोट मा.वि.का प्रधानाध्यापक ठगराज पुन (प्रदिप)ले कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए ।

    “महाविर पुनको योजनामा सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,” उनले भने “पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।”

    समुद्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाईमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृष्यावलोकन गर्न सकिन्छ । टिकोटदेखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाडादेखि हिमशृङखलाको अलावा सुर्योदय, म्याग्दीका ग्रामिण बस्ति र पहाडी भूगोल देखिन्छ ।

    टिकोटका १० वटा घरमा होमस्टे (घरबास) सुविधा छ । यहाँको होमस्टेमा एक दिनमा ४० जना भन्दा बढी पाहुना बास बस्न सक्छन् ।

    विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ ।

    नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन् । लघु उद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो ।

    स्थानीय जङ्गलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिडो, गाईभैसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोग बिना उत्पादन गरिएको प्राङगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ ।

    आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन् । कृषि पेशामा आधारित टिकोटबासीको जीवनशैली पनि पर्यटकको थप आकर्षण हो ।

    अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी–मल्लाज–बाँसखर्क–डाडाकटेरी–नागी–मोहरेडाडा–फुलबारी–ठूलाखर्कहुँदै पाँचौ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङहुँदै खोप्रातर्फ जान सकिन्छ ।

    बेनीदेखि तिप्ल्याङ, महभिरहुँदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्चि सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ ।

    अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरुको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ ।

    पछिल्लो दुई आर्थिक वर्षमा बिनियोजन भएको रु. २९ लाख बजेटबाट निर्माण भएको दुई तले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिए ।


    प्रकाशित : बुधबार, श्रावण २८ २०८२०९:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार