२०८३, कार्तिक १२ गते बिहीबार

झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती


  • मेरोभ्यूज
  • श्रावण २९, २०८२ बिहीबार

  • झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

     

    बागलुङ । सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ ।

    वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् ।

    यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको तीन सय रोपनी क्षेत्रमा खेती शुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनले योजना सुनाए ।

    तीन वर्षअघि १२ रोपनीमा शुरु गरेको यो खेती हाल तीन सय रोपनीमा फैलाउन सफल भएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

    यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु. तीन लाख लगानी भएको छ । हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो ।

    रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए ।

    “पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँ-सराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उनले भने, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम शुरु गरेका हौँ ।”

    स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउँछन् ।

    निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उनको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।

    काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाए ।

    “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उनले भने ।


    प्रकाशित : बिहीबार , श्रावण २९ २०८२१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार