२०८३, कार्तिक १२ गते बिहीबार

नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल


  • मेरोभ्यूज
  • भाद्र ३, २०८२ मंगलबार

  • नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

     

    म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ ।

    राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु. तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

    पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

    राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

    राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ ।

    गत फागुनदेखि शुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

    रु. चार करोड ७२ लाख ३७ हजार चार सय ६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

    निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदूर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए ।

    बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताए ।


    प्रकाशित : मंगलबार, भाद्र ३ २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार