२०८३, कार्तिक १२ गते बिहीबार

कफुचे-कोरी पदमार्गको स्तरोन्नती गरिँदै

कफुचे-कोरी पदमार्गको स्तरोन्नती गरिँदै


  • मेरोभ्यूज
  • भाद्र ३, २०८२ मंगलबार

  • कफुचे-कोरी पदमार्गको स्तरोन्नती गरिँदै

     

    गण्डकी । कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नती अघि बढाइएको छ ।

    मादमे खोला जलविद्युत् आयोजनाको रु. ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नती अघि बढाइएको हो ।

    पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नती भइरहेको मादी-१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए ।

    उनका अनुसार आयोजनाबाट रु. दस लाख प्राप्त भइ काम भइसकेको छ भने रु. २० लाख लागतको काम भइरहेको छ ।

    पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गरे ।

    कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले जानकारी दिए ।

    अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ ।

    कूल १० हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

    आँखै अगाडि हिमाल, हिमपहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो ।

    कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भू–भाग भन्ने बुझिने जानकारी दिए ।

    क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे रूपमा लिने गरिएको स्थानीयवासी बताउँछन् ।

    बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षातका समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

    यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

    पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।

    यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले जानकारी दिए ।

    यस जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ ।

    प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो ।

    नून लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उनले बताए ।

    हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् ।

    पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँ-ठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

    भइरहेको स्तरोन्नतिसँगै यो पदमार्ग यहाँ आउने पर्यटकका लागि अझै सहज हुने उनको भनाइ छ ।


    प्रकाशित : मंगलबार, भाद्र ३ २०८२१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार