नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियास्थित राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण गरिएको छ ।
जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माण भएपछि स्थानीयबासी खुशी देखिएका छन् ।
“तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम घटेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ”, राप्ती सोनारी-७ का वडाध्यक्ष रामलखन थारुले भने । उनले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राखे ।
वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारुले तटबन्धपछि स्थानीय निकै खुशी भएको बताए ।
तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । वि.सं. २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौँ गाउँ डुबानको जोखिममा पर्दै आएको थियो ।
यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् ।
रु. छ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनातको तटबन्ध कार्यालय लमही (दाङ)ले जनाएको छ ।
कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपतकालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्यूनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।
उनले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताए ।
“हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’लाई एकीकृतरूपमा प्रयोग गरेका छौँ”, डा. सुवेदीले भने ।
अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उनले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गरे ।
उनका अनुसार आपतकालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ ।
स्थानीयवासी दुर्गा पाण्डेले आपतकालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको बताए ।
खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका-६ को सोन वर्षा, कुदर वेटवा, गङ्गापुर, भगवानपुर र वडा नम्बर ५ को नवाजी गाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका-१ को कुडवा गाउँ लाभान्वित हुनेछन् ।

