सुदूरपश्चिम । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नती हुँदा धनगढी शहरको स्वरुप फेरिन थालेको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नती पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक शहरको रुपमा विकास गर्न क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब दस किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नती गरिएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजनाअन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नती पूरा भएको छ ।
सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ । यसै आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिका–७ पटेला क्षेत्रमा रु. एक अर्ब २५ करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ ।
धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको झलारी पिपलाडी र महेन्द्रनगर (भीमदत्तनगर) नगरपालिकामा पनि सडक स्तरोन्नती, सार्वजनिक भवन निर्माण, ढल निकास, फोहरमैला व्यवस्थापनलगायतका काम भइरहेका छन् ।
सङ्घीय शहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ ।
पञ्चवर्षीय आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र शहरी विकास आयोजनाबीच सम्झौता भएको थियो ।
प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नती भइरहेको छ ।
शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ । सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ ।
फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ । झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन् ।
‘उज्यालो धनगढी अभियान’अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताए ।
सघन शहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नती भइरहेको छभने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ । पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ ।
त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नती पूरा भएको छ ।
मोहनापुलदेखि गेटाखण्डसम्म ‘छ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुलदेखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नती पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
“सडक स्तरोन्नती एवं निर्माण लागत रु. एक अर्ब ७८ करोड रहेको छ”, कार्यालयका इञ्जिनियर सन्तोष चन्दले भने “निर्माणाधीन मनोहरा खोला र मोहना नदीमाथि पुलका लागि बजेट अभाव भएको छ ।”
सडकखण्डको बीच भागमा बनाइएको ‘मिडियन’मा फूलका बोटबिरुवा रोपिएको छ । सडकका दायाँबायाँ दुई मिटर चौडा ‘फुटपाथ’ निर्माण गरिएको छ ।
वि.सं. २०७७ मा निर्माण सम्झौता भएको सडक कूल रु. एक अर्ब ७६ करोडको लागतमा निर्माण पूरा भएको हो ।
अयोजनाअन्तर्गत गेटाखण्डको मनहरा खोला र धनगढीको मोहना नदीमाथिको पुल निर्माणाधीन छ ।
विनायोजना शहरका रुपमा विकास हुँदै गएको धनगढीमा बर्सेनी ठूलो सङ्ख्यामा घर संरचना निर्माण भइरहेसँगै सामान्य वर्षा हुँदा जम्ने पानीको उचित निकासको व्यवस्था नहुँदा नगरवासीले डुबानको समस्या भोग्दै आएका छन् ।
उपमहानगर क्षेत्रमा खुटिया नदी र मोहना नदीको कटानको समस्या छ । उपमहानगरपालिकाले एक वर्षदेखि शहरी क्षेत्रमा दैनिक जम्मा हुने फोहरमैलाको निजी क्षेत्रमार्फत व्यवस्थापन गरिरहेको छ ।
शहरी क्षेत्रमा विकास पूर्वाधार जुटिरहे पनि ग्रामीण क्षेत्रका कतिपय वडाका बासिन्दा अझै उचित सडक, स्वच्छ खानेपानीजस्ता आधारभूत सुविधाबाट वञ्चित छन् ।
उपलब्ध साधनस्रोतबाट उपमहानगरपालिका कार्यालयमार्फत हुने गरेका कतिपय विकास निर्माणका काम शक्ति र पहुँचवालाको वडामा मात्रै केन्द्रित गर्ने गरिएकाले विकासको प्रतिफल पाउन नसकिएको गुनासो नगरवासीको छ ।
वि.सं. २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साविकको बेलादेवीपुर, फूलबारी र उर्मा गाविसका साथै गेटा गाविसका केही वडालाई समेत समेटेर उपमहानगरपालिका बनाइएको थियो ।
स्थानीयवासी यज्ञराज भट्टले सडक स्तरोन्नतिसँगै बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुप नै फेरिएको बताए । उनले भने “धनगढी अब पहिलेको जस्तो कुरुप एवं फोहोर शहर रहेन ।”
धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन उपमहानगरपालिका कार्यालयले ‘हरियाली धनगढी अभियान’अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्दै आएको छ ।

