२०८३, कार्तिक १३ गते शुक्रबार

दर्शनार्थीमैत्री परिसर स्तरोन्नती

दर्शनार्थीमैत्री परिसर स्तरोन्नती


  • मेरोभ्यूज
  • भाद्र ५, २०८२ बिहीबार

  • दर्शनार्थीमैत्री परिसर स्तरोन्नती

     

    मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नती गरिएको छ ।

    सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु. नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नती गरिएको हो ।

    मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखलबलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए ।

    मुक्तिनाथ परिसरमा छप्पनी ढुङ्गा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो ।

    मन्दिर परिसर, कुण्ड र एक सय आठ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउन खिङ्गा कन्स्ट्रक्सनले जिम्मा पाएका थिए ।

    कार्यालयको सीमित बजेट भएकाले पूर्णरूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न हुन नसकेको प्रा.लि.का प्रतिनिधि लाक्पाटसी गुरुङले जानकारी दिए ।

    उनका अनुसार सामाजिक विकास कार्यालयमार्फत तीन हजार एक सय ४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ ।

    छप्पनी ढुङ्गा बिछ्याएर स्तरोन्नती गरिएपछि मुक्तिनाथ आउने दर्शनार्थीलाई सहज भएको मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले उल्लेख गरे ।

    “मुक्तिनाथ मन्दिर अगाडि र पछाडिको एक सय आठ धारातर्फको परिसरको असहज थियो, पुराना ढुङ्गा उप्किएका थिए”, उनले भने, “अहिले परिसरको एउटै लेबल मिलाएर नयाँ छप्पनी ढुङ्गा बिछ्याएको छ ।”

    समितिले मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सरको व्यवस्था गरेको छ ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको पहलमा समितिले बाह्रै महिना तातोपानी पिउने व्यवस्था गरेको सुवेदीले जानकारी दिए ।

    यसले मुक्तिनाथको उच्च स्थानमा दर्शन गर्न आउने भक्तजनलाई लेक लाग्ने सम्भावनालाई न्यूनीकरण गर्ने उनको भनाइ छ ।

    कर्मचारी सुवेदीले भने, “यस्तै, एक सय आठ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण गरिएको छ ।

    मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनी सात लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

    मन्दिर परिसरमा तातोपानी पिउने व्यवस्था भएसँगै भक्तजनलाई सहज भएको छ । पर्यटकीय याममा पनि दर्शनार्थीलाई तातोपानीको सुविधा भएको छ ।”


    प्रकाशित : बिहीबार , भाद्र ५ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार