२०८३, कार्तिक १२ गते बिहीबार

किसान व्यावसायिकरूपमा सिस्नु खेती गर्दै

किसान व्यावसायिकरूपमा सिस्नु खेती गर्दै


  • मेरोभ्यूज
  • भाद्र ६, २०८२ शुक्रबार

  • किसान व्यावसायिकरूपमा सिस्नु खेती गर्दै

     

    तेह्रथुम । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिकरूपमा सिस्नो खेती थालेका छन् ।

    लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो ।

    वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष ईन्द्रबहादुर खड्काले बताए ।

    डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु. दस लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ ।

    उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए ।

    “हाल निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेका छन्, सिस्नु प्रशोधन गर्ने मेसिन ल्याएर धुलो बजारमा पठाउँदा निजी जग्गाको सिस्नुले मात्र माग नधान्ने भएकोले वन क्षेत्रका खाली जग्गामा पनि सिस्नु रोपेका हौँ”, उनले भने ।

    सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना उनले सुनाए ।

    गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्छ ।

    लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहल-पहल भइरहन्छ । होटलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको वसन्तपुरस्थित टुटे देउराली हिमगङ्गा गेष्ट हाउसका सञ्चालक यशोदा कार्कीले बताइन ।

    उनका अनुसार वसन्तपुर बजारका हरेक होटलमा सिस्नुका परिकार पाक्छ ।

    स्थानीयले बजारका होटलसम्म सिस्नु पुर्याउँछन् । वसन्तपुर बजार भएर यात्रा गर्ने यात्री र पर्यटकले प्रायः सिस्नु किन्ने गरेका रुपा स्टोरका सञ्चालक रुपा रायले बताइन ।

    “वसन्तपुरबाट हरेक दिन कम्तीमा पनि एक गाडी तराईका जिल्लामा पहाडको निगुरो, च्याउ र सिस्नु पठाउने गरेको छु”, उनले भनिन ।

    अस्थायीरुपमा तेह्रथुमा बसोबास गर्दै आएका सङ्खुवासभाको धर्मदेवी गाउँपालिका-१ का ६० वर्षीय रमेश गुरुङ र उनकी श्रीमती हर्कमाया दिन बिराएर वसन्तपुरका होटलमा सिस्नु बेच्न ल्याउँछन् ।

    प्रतिमुठा रु. २५ देखि ३० मा सिस्नु बेचेर रु. एक हजार पाच सयसम्म आम्दानी गरी घर फर्कने गरेको गुरुङ दम्पतीले जानकारी दिए । निजी जग्गा र जङ्गलमा उम्रिएका सिस्नु टिपेर ल्याउने गरेको उनीहरूले सुनाए ।

    लेकको पात्ले सिस्नु स्वादिष्ट हुने भएकाले यसको माग बढेको हो । लालीगुराँस नगरपालिका क्षेत्रमा प्रशस्त सिस्नु उत्पादन हुने भएकोले सामुदायिक वनलाई सिस्नु प्रशोधन मेसिन उपलब्ध गराउन पहल गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए ।

    सिस्नुको व्यावसायिक खेती गर्न तथा यसको धुलोको ‘लेबलिङ र प्याकेजिङ’मा ध्यान दिइ गुणस्तरीय उत्पादन गरेर अन्तरराष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए ।


    प्रकाशित : शुक्रबार, भाद्र ६ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार