२०८३, कार्तिक १२ गते बिहीबार

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय शुरु गरेकी सविना

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय शुरु गरेकी सविना


  • मेरोभ्यूज
  • भाद्र ६, २०८२ शुक्रबार

  • फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय शुरु गरेकी सविना

     

    खोटाङ । फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन थिए ।

    घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उहाँले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गरे ।

    “यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उनी भन्छिन्, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”

    उनको नर्सरीमा हाल एक सय बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु एक सय ५० देखि रु. दुई हजार पाच सयसम्मका फूलका बिरुवा उनको नर्सरीमा पाइन्छ ।

    बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।

    उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको उनले बताए ।

    ग्राहकको माग बढ्दै गएपछि रु. चार लाख लगानीमा शुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा छिन् ।

    आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उनले बताइन् ।

    “मलाई फूलसँग खेल्न रमाइलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । रहरै रहरमा शुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ, पछिल्लो समय फूलका बिरुवा खरिद गर्न ग्राहकहरु दैनिक आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ”, उनले भनिन् ।

    तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती शुरु गरेकी सविनालाई उनका श्रीमान ईन्द्र कसजूले सहयोग गर्दै आएको छ ।

    फूलका बिरुवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् ।

    आधिकारिकरुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती शुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताइन ।

    हाल उनले वार्षिक खर्च कटाएर रु. एक लाख जति बचत गर्न थालेको छ । विस्तारै आम्दानी वृद्धि हुने अनुमान उनको छ ।

    दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मूल बोटको रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेको थियो ।

    केही समययता जिल्लामा हुने विभिन्न कार्यक्रममा उनकै नर्सरीमा उत्पादित फूलको प्रयोग गर्ने गरिएको छ ।

    सदरमुकाम दिक्तेल बजारमै पक्की घरहरु धमाधम बनिरहेकोले घरहरुमा सजाउन पनि स्थानीयले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको छ । नर्सरीको आम्दानीले छोराको पढाइ तथा घर खर्च टार्ने गरेको सविनाले बताइन् ।


    प्रकाशित : शुक्रबार, भाद्र ६ २०८२१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार