२०८३, कार्तिक १२ गते बिहीबार

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबार

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबार


  • मेरोभ्यूज
  • भाद्र ७, २०८२ शनिबार

  • कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबार

     

    भोजपुर । यहाँको षडानन्द नगरपालिका-१० रिठ्ठाबोटमा रहेको चण्डिका आधारभूत विद्यालयलाई घेराबार गरिएपछि पठन-पाठनमा सहजता भएको छ ।

    एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबार गरिएपछि सहजता भएको हो ।

    विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठन-पाठनमा असहजता भइरहेको अवस्थामा घेराबारले सहजता भएको विद्यालयका प्रधानाध्यापक परशुराम काफ्ले बताउँछन् ।

    मुलबाटो छेउको विद्यालय भएकोले घेराबार भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उनको भनाइ छ ।

    नजिककै हाटबजार लाग्ने भएकोले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उनको भनाइ छ ।

    “विद्यालयको घेराबार नहुँदा धेरै समस्या थियो” उनले भने ,“विद्यालयको चौरमा गाइबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको अवस्था थियो । घेराबार भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठन-पाठनमा सहजता छ ।”

    घेराबार नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले रु. दुई लाख बजेट विनियोजन गरेर घेराबार लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए ।

    विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबार गरिएको उनको भनाइ छ ।

    “वडामा सीमित बजेट हुन्छ” वडाध्यक्ष शेर्पाले भने, “स्थानीयको माग धेरै छ । घेराबार नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबार गरिएपछि विद्यालय सञ्चालनमा सहजता भएको छ ।”

    वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरि सञ्चालन भएको काम र भावी दिनमा हुन लागेका योजनालाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाइमार्फत जानकारी दिँदै आएको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, भाद्र ७ २०८२१०:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार