गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।
छत्रकोट–४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिन्छ ।
गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसकेको छ । गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारीरहेको अबस्थामा छत्रकोट–४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेको छ ।
उनीहरु तिनै जनाले संयुक्तरुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेको छ । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएको छ ।
उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरु आर्थिक संमृद्धिको खोजीमा जुटन थालेको छ । उनीहरुले तीन सय रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्न शुरु गरेको हो ।
गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरुले उखुको रसलाई विविधिकरण गर्दै आएको छ । आधुनिक मेशिनबाट पेलिएको उखुको रसलाई प्रशोधन गरी गुड र खुदोको ब्रान्डिङ् गरिएको छ ।
उनीहरुले कम्पनीमार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि रु छ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ ।
उक्त अनुदान रकममा थप गरेर उनीहरुले रु १२ लाख भन्दा बढी लगानीमा उखु प्रशोधनका लागि मेशिन जडान गरेको छ ।
उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए ।
कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भैरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मूल्यमा विक्री हुँदै आएको छ ।
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्षरुपमा रोजगारीमा जोडिएका छन् । गाउँमै उखुबाट समृद्धि खोज्न थाल्नु भएका न्यौपानेले कम्पनीमार्फत पाँच महिनाको अबधिमा एक करोड मूल्य भन्दा बढिको गुड र खुदो बिक्री भैसकेको बताए ।
उनले भने, “बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्छ, कहिलेकाहीँ माग धेरै भएको समयमा हामीलाई माग पुराउन पनि धौधौ पर्दछ छ ।”
कृषि ज्ञान केन्द्र गुल्मीका बरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यस वर्ष जिल्लामा रु पाँच करोड ७० लाख बराबरको गुड खुदो बिक्री भैसकेको जानकारी दिए ।
जसअनुसार जिल्ला भित्र रु दुई करोड बराबरको खपत भएको छ भने रु तीन करोड ७० लाखको गुड खुदो बाहिर निर्यात भएको बताइएको छ ।
जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आएका छन् । जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधूरीका कृषकहरु व्यावसायिकरुपमा उखु खेतीमा जोडिएका छन् ।

