२०८३, कार्तिक १२ गते बिहीबार

केरा गाउँ ‘बाँस्टारी’

केरा गाउँ ‘बाँस्टारी’


  • मेरोभ्यूज
  • भाद्र ८, २०८२ आइतबार

  • केरा गाउँ ‘बाँस्टारी’

     

    स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।

    बाँस्टारीमा वि.सं. २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुईवटा केराका उत्पादन शुरु गरेका थिए । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थालेको हो ।

    यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन् ।

    कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ ।

    करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिकरूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताए । उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गरेको छ ।

    गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गरेको बताए । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उनको भनाइ छ ।

    “अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक रु. एक लाख आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु”, कृषक गौडेलले भने ।

    बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो । उनले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाएका छन् ।

    तीन रोपनी आफ्नो र छ रोपनी जग्गा भाडामा लिएर केराखेती गरेको र यसबाट वार्षिक रु. दुई लाख आम्दानी गरिरहेको उनले बताए ।

    “यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउछन् । हाल व्यापारीलाई प्रतिदर्जन रु. ७०/८० का दरले बिक्री गरिरहेको छु”, न्यौपानेले भने ।

    विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ ।

    यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुवोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ ।

    बाँस्टारीमा सबैगरी करिब एक सय ५० रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती भइरहेको छ ।


    प्रकाशित : आइतबार, भाद्र ८ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार