२०८३, कार्तिक १३ गते शुक्रबार

रु. तीन करोडको लागतमा नदी नियन्त्रण योजना

रु. तीन करोडको लागतमा नदी नियन्त्रण योजना


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • रु. तीन करोडको लागतमा नदी नियन्त्रण योजना

     

    म्याग्दी । रु. तीन करोड ६५ लाखको लागतमा म्याग्दीको चार ठाउँमा नदी नियन्त्रण योजना सम्पन्न भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराले नदी कटान र बाढी नियन्त्रणका लागि तटबन्ध र कम्पोजित पर्खाल निर्माण गरेको हो ।

    आयोजनाका इञ्जिनियर नरजङ गुरुङले चालु आर्थिक वर्ष २०८१/८२ मा दरवाङ, तातोपानी, सिंगा र लामगरामा योजना निर्माण भएको जानकारी दिए ।

    बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारस्थित सरस्वती मा.वि.को पछाडि म्याग्दी नदीको किनारमा ठेक्कामार्फत ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन/तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको छ ।

    रु. दुई करोड ७० लाख लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन महिनामा रु. एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभीले बर्खा अघिनै काम सम्पन्न गरेको हो ।

    मालिका गाउँपालिकाको केन्द्र दरवाङस्थित म्याग्दी नदी किनारमा २६ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको छ ।

    बेनी नगरपालिका–४ सिंगाको म्याग्दी नदी किनारमा एक सय ५० मिटर र वडा नं. १ लामगरास्थित कालीगण्डकी नदी किनारमा एक सय ५० मिटर लामो ग्यावियन पर्खाल निर्माण भएको छ ।

    रु. ७०/७० लाख बिनियोजन भएको दरवाङ, सिंगा र लामगराको नदी नियन्त्रण योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको हो ।

    लामगरामा निर्माण भएको ग्यावियन पर्खालको बाहिरी भागमा तारजालीलाई खिया लाग्न नदिन ‘ज्याकेटिङ’ प्लास्टर गरिएको छ ।

    लामगराको नदी नियन्त्रण योजनाको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले तटबन्धपछि बस्ति, खेतीयोग्य जमिन र रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार संरक्षण भएको बताए ।

    आयोजनामार्फत यस वर्ष थप चार ठाउँमा नदी नियन्त्रणका लागि विभिन्न निर्माण कम्पनीसँग रु. नौ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको छ ।

    सिंगा तातोपानी बजार संरक्षणका लागि म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण गर्न आरआरसी जेभीसँग रु. दुई करोड ७१ लाख र बेनीस्थित दरवाङ बसपार्क क्षेत्रमा म्याग्दी नदी किनारमा एक सय ६५ मिटर कम्पोजित पर्खाल निर्माणका लागि रुपल–सुप्रिमसँग रु. चार करोड २१ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।

    रघुगङ्गा गाउँपालिका–३ को गायत्री मन्दिर संरक्षणका लागि ५० मिटर लामो कम्पोजित पर्खाल निर्माण गर्न गुरुङ बाजे मण्डली जेभीले रु. ७४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

    बेनीको कालीपुल बस्ति पारी बगरफाँटतर्फ कालीगण्डकी नदी किनारमा ८० मिटर कङ्क्रिट पर्खाल निर्माणका लागि साहना–गोपी जेभीले रु. दुई करोड नौ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको छ ।

    चालु आर्थिक वर्षमा ठेकेदार छनौट र सम्झौता भएका योजनाको आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने आयोजना प्रमुख बिदुरमान श्रेष्ठले बताए ।

    बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै तटीय क्षेत्रका बासिन्दाले सुरक्षित महशुस गर्न थालेका छन् ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार