२०८३, कार्तिक १२ गते बिहीबार

बाख्रापालनमा जमेका चन्द दम्पति

बाख्रापालनमा जमेका चन्द दम्पति


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • बाख्रापालनमा जमेका चन्द दम्पति

     

    टीकापुर । गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पति भने कृषि तथा पशुपालनमा जमेका छन् ।

    चन्द दम्पतिले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगेका छन् । वडा नं. ९ मा खेमबहादुर चन्द र रिजना चन्दले वि.सं. २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् ।

    अरुणोदय मा.वि. खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् ।

    चन्द दम्पतिले बाख्रापालनबाट वार्षिक रु. पाँच लाखसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।

    शुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पति व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । “बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाँधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ”, खेमबहादुरले भने, “सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढि चाहिन्छ ।”

    यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतिलाई रानी-जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ ।

    “हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौँ”, रिजना चन्दले भने, “आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घास काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।”

    विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ ।

    यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् । लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गरेको छ । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ ।

    शुरूशुरूमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतिले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउँछन् ।

    “पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ. पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौँ”, खेमबहादुरले भने, “अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ ।”

    यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उनले बताए ।

    सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतिले मेहनतअनुसारको फल लिइरहेको बताउँछन् ।

    “मेहनत गरेर पेसामा टिकेको छ”, उनले भने, “बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उनीहरूलाई यही पेसामा टिक्न सहज भएको छ ।”

    यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैङ्गलोर जाने गरेका छन् । यसरी जाने परिवारले सामान्यतया मासिक ३०/३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन् । यतिखेर यस क्षेत्रका नेपाली दम्पति सयौँको सङ्ख्यामा बैङ्गलोरमा गएका छन् ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार