२०८३, कार्तिक १२ गते बिहीबार

बाँझो जमिनमा तरकारी उत्पादन

बाँझो जमिनमा तरकारी उत्पादन


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • बाँझो जमिनमा तरकारी उत्पादन

     

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाएको छ ।

    सोही नगरपालिकाको वडा नं. २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन दस वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती शुरु गरेका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गरेको हो ।

    बाह्र वर्षअघिदेखि जिल्लामै अर्ग्यानिक तरकारी तथा फलफूलखेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकिलो रु. ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती शुरु गरेको उनले तीन युवालाई रोजगारीसमेत दिएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालयमा ‘झिसेपु अर्ग्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लागेका धर्मराजले उत्पादन गरेको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गरेको छ ।

    उत्पादित आलुमध्ये करिब दुई हजार आठ सय किलो दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिए ।

    व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लागेका धर्मराजले पाँच राँगा/भैँसीपालन गरेको छ ।

    अर्ग्यानिक आलु उत्पादन गर्ने अभियानमा लागेका उनले त्यही राँगा/भैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आएको छ ।

    करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती शुरु गरेका धर्मराजले गत माघमा छ सय किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोपेका थिए । कुनाखर्कमा उत्पादित अर्ग्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती शुरु गरेको उनले बताए ।

    करिब रु. ११ लाख लगानीमा शुरु गरेको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताए ।

    “पहिलो पटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उनले भने, “आलुसँगै पशुपालन तथा तरकारीखेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”

    अर्ग्यानिक कृषि उपज उत्पादन अभियानमा लागेका धर्मराजले शुरुमा वडा नं. ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिकरूपमा अर्ग्यानिक फलफूल तथा तरकारीखेती गरेका थिए ।

    करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उनले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आएको छ ।

    कृषि पेसालाई आधुनिक तथा यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लागेका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आएको छ ।

    झिसेपुको फार्म सञ्चालनका लागि उनलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् ।

    रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार