२०८३, कार्तिक १३ गते शुक्रबार

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

     

    म्याग्दी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेको छ ।

    गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटक-पटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उनले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाएको थियो ।

    गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्किएका थिए ।

    गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएको छ ।

    डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म रहेको छ । दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडाखेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न शुरु गरेको छ । टनेलमा स्थानीयस्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडाखेती गरिएको छ ।

    एउटा टनेलबाट वार्षिक रु. चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडाखेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको जानकारी दिए ।

    ''मैले उत्पादन गरेको गोलभेँडा स्थानीयस्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेँडा उत्पादन गर्ने गरेको छु, गाइ, भैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग किरा लागेमा गाई, भैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन”, उनले भने ।

    कुमार पुर्जा कृषि तथा पशुपक्षी फार्म दर्ता गरेका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब रु. छ लाख लगानी गरिसकेको जानकारी दिए ।

    लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गरेका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्किएका थिए भने इराकमा दुईपटकसम्म पुगेर फर्कनुपरेको थियो ।

    श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थालेको छ ।

    जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेपेका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुनेको छ ।

    बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारी दिने गरेको छ ।

    गोलभेँडाखेतीसँगै पुर्जाले काफलडाँडामा परीक्षणको रूपमा स्याउखेती विस्तार गरेको छ ।

    करिब पाँच रोपनी जग्गामा कृषिखेती गर्दै आएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएको छ । यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिकरूपमा स्याउको खेती विस्तारमा जुटेको उनले बताए ।

    कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरिएको छ । गत चैत महिनामा लगाएको गोलभेँडा फल्न थालिसकेको छ । तीनवटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेँडाका बिरुवा लगाएको छ ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार