२०८३, कार्तिक १३ गते शुक्रबार

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

     

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय मा.वि.का विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् ।

    झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

    विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सिप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारी खेती गरिएको जानकारी दिए ।

    “धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन”, उनले भने “विद्यार्थीले पढ्दै कमाउने सिप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

    बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् ।

    करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु. पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।

    विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सिप सिक्नुका साथै ‘रिफ्रेस’ महशुस गरेका छन् ।

    गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय मा.वि.का प्र.अ. शेरबहादुर केसीले जानकारी दिए ।

    छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सिप सिकाउने उद्देश्यले हेम नमूना र मूनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए ।

    गत वर्ष रु. तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकोले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार