२०८३, कार्तिक १२ गते बिहीबार

गुरुङ दम्पतिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

गुरुङ दम्पतिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • गुरुङ दम्पतिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

     

    मुस्ताङ । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उनीहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेको छ ।

    गुरुङ दम्पतिलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्छन् “ तत्कालीन समय सम्झदा नमज्जा लागेपनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ ।”

    एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पतिमा मेहनत र परिश्रमको हुटहुटि चलेको देखिन्छ ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ ।

    एउटा पक्की पुलको आसामा वर्षौँ बिताइसकेका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पति आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बनेको छ । सडक सञ्जालले सहज रुपमा नछोए पनि गुरुङ दम्पतिले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्छन् ।

    गुरुङ दम्पतिले शुरुवात गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्ग्यानिक फर्मको करिब एक रोपनीबाट शुरुवात गरेको थियो । अहिले समग्र मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइ सक्नु भएका उनीहरुको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ ।

    उनीहरुलाई दैनिकजसो स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ । बिहान उठेदेखि बेलुकीसम्म पूरै समय किसान भएर काम गर्न पाउदाको क्षण उनी दुबै दम्पतिलाई बडो आनन्द आउने उनीहरु बताउछन् ।

    यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरुसँग करिब आठ जना मजदूर पनि छन् ।

    कुनैबेला व्यावसायिक स्याउखेती नहुने बगरमा बेकारको लगानी गर्यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्ने गाउँलेहरु अहिले उनीहरुको सफलता देखेर चकित परेका छन् ।

    करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घरखर्च चलाउने सोचबाट शुरु भएको स्याउखेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पतिले उक्त फर्मको स्थापना गरेको थियो ।

    निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्द उदाहरणको साक्षी हुन् गुरुङ दम्पति ।

    अहिले उनीहरुको कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बनेको ।

    पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउखेती गरेर वार्षिक रु. पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरैनै हुने गरेको छिरिङ ढोका गुरुले बताए ।

    यसै वर्ष छिरिङ ढोका गुरूङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ दम्पति पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित भएको छ ।

    छिरिङ ढोका गुरुङले नगद रु. दुई लाखसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पतिलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ ।

    पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषिमन्त्री पद्मा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद रु. ५० हजारसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेका थिए ।

    गुरुङ दम्पतिको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यसवर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गरेको छ ।

    गतवर्ष खर्च कटाएर रु. ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गरेको छ । पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गतवर्ष १३ लाख आम्दानी गरेको थियो ।

    जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउखेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पतिको यतिबेला सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार