२०८३, कार्तिक १२ गते बिहीबार

डोको, डालो र भकारी सुदूर पहाडमा पाइँदैन

डोको, डालो र भकारी सुदूर पहाडमा पाइँदैन


  • मेरोभ्यूज
  • भाद्र १२, २०८२ बिहीबार

  • डोको, डालो र भकारी सुदूर पहाडमा पाइँदैन

     

    डडेल्धुरा । प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागतरूपमा प्रयोग गरिँदै आएको डोको, डालो, सुप्पा र भकारी लोप हुँदै गएका छन् ।

    केही वर्षअघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

    यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको, डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

    पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चा पदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले जानकारी दिए ।

    उनका अनुसार गाउँ-गाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।

    एक दशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए ।

    डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाको भरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

    “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टिका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

    गाउँ-घरमा बाँस र निगालोका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए ।

    “गाउँ-घरमा गोरुबाट गर्ने काममा ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ ।

    अब बाँस, निगालोबाट बुनेका सामग्री लोप भइसकेका छन्”, उनले भने । टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरूको गुनासो छ ।

    सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु. चार सयदेखि रु. छ सयसम्ममा बिक्री गर्दै आएका थिए ।

    त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु. एक हजारदेखि रु. चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

    युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो ।

    निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।


    प्रकाशित : बिहीबार , भाद्र १२ २०८२०८:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार