२०८३, कार्तिक ११ गते बुधबार

नेपाल–बेलायत श्रम वार्ता
मार्चसम्म श्रम समझदारी गर्न नेपाल र बेलायतका अधिकारी सहमत

मार्चसम्म श्रम समझदारी गर्न नेपाल र बेलायतका अधिकारी सहमत

बेलायतले स्वास्थ्य क्षेत्रमा १० हजार नर्स लैजाने


  • मेरोभ्यूज
  • पौष ३०, २०७८ शुक्रबार

  • मार्चसम्म श्रम समझदारी गर्न नेपाल र बेलायतका अधिकारी सहमत

    काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 

    दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन् । समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुंगोमा पुर्याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए । 

    यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुंगो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । 

    बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरु ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए । 

    बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्रयाउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन् । 

    वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन् । 


    प्रकाशित : शुक्रबार, पौष ३० २०७८१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार