२०८३, कार्तिक १२ गते बिहीबार

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती


  • मेरोभ्यूज
  • भाद्र १३, २०८२ शुक्रबार

  • वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

     

    पाल्पा । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् ।

    खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।

    टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताए । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताए ।

    “यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, घर्तीले भने । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ ।

    पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएको छ । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनी बताउँछिन् ।

    उनले भनीन्, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ”, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उनी मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

    यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् ।

    रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला-पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे ।

    जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछसन् ।

    बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

    असारको अन्तिम सातादेखि असोज-कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक रु. एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

    टिमुरबाट वार्षिक रु. दुई लाख आम्दानी गरेको रिब्दीकोट-६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए ।

    पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण शहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ ।

    बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ ।

    ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

    अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ ।

    बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

    उनले भने, “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।” एक पटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ ।

    टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए ।

    जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १३ २०८२०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार