म्याग्दी । कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनारहुँदै तलतर्फ कालीगण्डकी नदि किनारमा रु. ७० लाख बजेटबाट एक सय ५० मिटर तटबन्धन निर्माण गरेको हो ।
उक्त कार्यालयका इञ्जिनियर नरजङ गुरुङका अनुसार तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर 'ज्याकेटिङ' गरिएको छ ।
तटबन्धन निर्माण गरेपछि लामगराका ५० परिवारले सुरक्षित महशुस गरेका छन् ।
लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्याङ्की संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । यो बस्ती सागसब्जीको पकेट क्षेत्र पनि हो ।

