२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ


  • मेरोभ्यूज
  • भाद्र १६, २०८२ सोमबार

  • व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

     

    स्याङ्जा । यहाँका दुई दाजुभाइले व्यावसायिकरूपमा काँक्रोखेती थालेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भइ पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिकरूपमा काँक्रोखेती शुरू गरेको हो ।

    ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए ।

    कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिकरूपमा कृषिखेतीमा होमिएको हो ।

    “यस पटक नौ रोपनी जमिन सबैमा काँक्रोमात्रै लगाएका छौँ”, उनले भने, “काँक्रोको उत्पादन लिन शुरू गरेका छौँ ।” यहाँ उत्पादन भएको काँक्रो अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ ।

    यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजाने गरेका छन् । स्थानीय बजारमा उत्पादित काक्रो बिक्री भइरहेकाले अन्यत्र लैजान नपरेको उनले बताए ।

    “जमिनमा जुनसुकै बाली/सागसब्जी लगाए पनि एक पटकमा एउटै मात्र लगाउँछौँ”, उनले भने, “एउटामा बालीमा भएको रोग अर्कोमा नसर्ने र एकै पटक एउटै मात्र उत्पादन लिँदा परिमाण धेरै हुने र बजार मूल्य पनि राम्रो पाइने भएकाले एक पटक, एउटा बाली अभियानअनुसार अगाडि बढ्छौँ ।”

    यहाँ अहिले कर्मा, किङसार र स्टारविजजस्ता तीनवटा हाइब्रिड जातका काक्रो लगाइएको छ ।

    यस पटक लगाएको काक्रोको उत्पादन लिइसकेपछि दोस्रो चरणमा सबै जमिनमा अर्को बाली लगाउने र वर्षैभरि जमिन खाली नराख्ने योजनामा रहेको उनले बताए । अरु बेला दुई दाजुभाइले सँगसँगै काम गर्ने र आवश्यक पर्दा कामदार लगाउने गरेको छ ।

    काक्रो लगाउनका लागि हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, तार, जाली, कामदार ज्याला, औषधि उपचार, उपकरणलगायतमा रु. दुई लाख खर्च भएको उनले बताए ।

    “ठूलो परिमाणमा व्यावसायिक काक्रोखेती गरिएकाले सय दिनमा ३० टन काक्रो उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको छ”, उनले भने, “बजार भाउ यकिन हुँदैन अहिले प्रतिकेजी रु. ६०-७५ का दरले बिक्री भइरहेको छ, मूल्य स्थिर नभइ घटबढ हुनसक्छ ।”

    सोही ठाउँमा तीन हजार कुखुरापालनका लागि आधुनिक फर्म निर्माण कार्य भइरहेको छ । अब छिट्टै व्यावसायिक सागसब्जीसँगै व्यावसायिक कुखुरापालनलाई पनि अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।

    “कृषिलाई प्रविधिसँग जोड्न सकिएन भने लागत बढ्न जाने भएकाले लागत कम गर्नका लागि एकदमै सचेत भएर प्रविधिको प्रयोगमा जोड दिएर अगाडि बढेका छौँ”, उनले भने, “आफूहरूले थालेको कृषि कर्मप्रति निक्कै सन्तुष्टि मिलेको छ, कृषि पेसामा रमाइरहेका छौँ, भोलिका दिनमा पनि रमाएरै लाग्छौँ ।”

    प्रेरणादायी युवा उद्यमशीलता देख्दा हर्ष लागेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

    “फेदीखोला गाउँपालिकाले न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँछ”, उनले भने, “आवश्यक प्राविधिक सहयोगमार्फत यस्ता व्यावसायिक प्रयासलाई साथ दिन पालिका कटिबद्ध छ, उत्पादनमूलक अर्थतन्त्रतर्फको यात्रामा हामीसँगै छौँ ।”


    प्रकाशित : सोमबार, भाद्र १६ २०८२०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार