२०८३, कार्तिक १२ गते बिहीबार

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण


  • मेरोभ्यूज
  • भाद्र १७, २०८२ मंगलबार

  • निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

     

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको पाँच महिनाअगाडि नै पुल निर्माण भएको हो ।

    प्रसिद्ध तीनखोले मन्दिर जाने बाटोमा पक्की पुल निर्माणपश्चात् आवत-जावतमा सहयोग भएको छ ।

    निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्ति व्याप्त रहेका बेला यहाँ सम्झौता अगावै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएको स्थानीय शङ्कर सारुले जानकारी दिए ।

    शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो ।

    डबल सेल बक्स डिजाइनको पुल रु. दुई करोड ८० लाख ५९ हजार नौ सय ७९ को लागतमा निर्माण गरिएको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

    वि.सं. २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रा.लि. गुल्मीले वि.सं. २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेका थिए ।

    प्रा.लि.का प्रतिनिधि गगन केसीले सबैको सहयोगले समयअघि नै काम सम्पन्न भएको जानकारी दिए ।

    यो सडक खुलेको २७ वर्ष भएको छ । पृथ्वी राजमार्गबाट तीन किलोमिटरको दूरीमा अवस्थित तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा पक्की पुल नहुँदा बर्खामा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय बालकुमार वाग्लेले बताए ।

    खेरैनीटार बजारबाट कुम्लेखोला तरेर प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ ।

    यहाँ पुल निर्माण भएपछि अब मन्दिर जाने भक्तजनको सङ्ख्यासमेत बढ्ने मोटरमार्ग उपभोक्ता समितिका अध्यक्षसमेत रहेको वाग्लेको विश्वास छ ।

    शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बर्खामा ह्युमपाइप राखेर सवारी सञ्चालन गरे पनि खोला बढ्दा ह्युमपाइप नै बगाउने गरेको स्मरण गरे ।

    उक्त पुलको हालै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले उद्घाटन गरेका थिए ।


    प्रकाशित : मंगलबार, भाद्र १७ २०८२०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार