लमजुङ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउँछन् ।
राजनीति र समाजसेवासमेत गर्दै आएका उनले विगत दुई वर्षदेखि अटो चलाउन थालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार पाच सय रुपैयाँसम्म कमाउने गरेको बताए ।
“मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन । उनीहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उनले भने ।
सुन्दरबजार र बेँसीशहरको रुटमा अटो चलाउने गरेको उनको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उनले बताए ।
उनले भने, “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पुर्याउन अनुरोध गरेमा राति १२/१ बजेपनि पुर्याउने गर्छु ।”
उनका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उनले जानकारी दिए । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।
प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उनले राजनीतिको सुरुवात वि.सं. २०३७ मा एमाले निकट भातृ सङ्गठन अनेरास्ववियुमा आबद्धहुँदै शुरु गरेका थिए । वि.सं. २०५२/५३ मा एमाले परित्याग गरे ।
पछि नेपाली कांग्रेसमा आबद्धहुँदै वि.सं. २०६५/६६ तिर नगर सचिव, वि.सं. २०७० मा वडा नागरिक मञ्च संयोजक, वि.सं. २०७२ मा सुन्दरबजार नगर कमिटी सभापति भएका थिए ।
वि.सं. २०७४ मा कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना राखे । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेद्वार बने । तर उनी पराजित भए ।
उनलाई कांग्रेसले कारबाही गरेपछि उनी स्वतन्त्ररूपमा सङ्गठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य सङ्घ, खानेपानीजस्ता सङ्घ/संस्थाका निर्वाचनमा उनको समूह निर्णायक बन्यो ।
वि.सं. २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिए र पराजित । वि.सं. २०७९ को स्थानीय निर्वाचनमा मिश्रले पुनःसुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए । तर विजयी हुन सकेन ।
त्यसपछि वि.सं. २०७९ साउनमा एक सय ५० जनासहित मिश्र एमालेमा प्रवेश गरे । सो पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गरे ।
पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भए । सो यता नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
राजनीति र सामाजिक रूपमा उनको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।
बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उनी उदाहरणिय बनेको छ ।
वि.सं. २०४१ मा एसएलसी पास गरेका उनले वि.सं. २०५६ मै काठमाडौंको सरस्वती क्याम्पसबाट 'एमविए' उत्तीर्ण गरेका उनले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गरेका थिए ।

