२०८३, कार्तिक १२ गते बिहीबार

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’


  • मेरोभ्यूज
  • भाद्र १८, २०८२ बुधबार

  • विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

     

    भोजपुर । कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् ।

    भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन् ।

    वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेको हो ।

    विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

    “वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु”, उनले भने ।

    ‘उन्नती कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिकरूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ ।

    राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट रु. दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ ।

    आफ्नो बारीमा अहिले एक हजार चार सय बोट खुर्सानी लगाएको उनले जानकारी दिए ।

    युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।

    “हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु”, उनले भने ।

    आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु. दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

    यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौंलगायत शहरमा जाने गरेको उनी बताउँछन् ।

    पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा किरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनको भनाइ छ ।

    खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकोले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताए ।

    मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उनको भनाइ छ ।

    “मैले अर्ग्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु”, उनले भने, “मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अर्ग्यानिक खेतीमा जोड दिएको हुँ ।” करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए ।

    व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनको भनाइ छ ।

    राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।


    प्रकाशित : बुधबार, भाद्र १८ २०८२१०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार