तनहुँ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले एक सय ५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो ।
केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार एक सय ५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।
उनका अनुसार यस कार्यक्रमका लागि रु. १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु. सात लाख ४८ हजार खर्च भएको छ ।
यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दस सिकेचर, दस ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उनले तीन पोखरी र चार सिँचाइ ट्याङ्की निर्माण गरिएको बताए ।
यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका लागि रु. १५ लाख बजेट विनियोजन गरिएकामा रु. १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममार्फत तीन सय ८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ ।
यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, दुई सय ६० किलो 'रेडिमेड पेष्ट', एक लाख ९४ हजार आठ सय किलो गोबर मल, तीन सय किलो पिना, तीन हजार एक सय मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ ।
फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत चार सय १४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रम सञ्चालनका लागि वीस कृषक समूह छनोट भएका गरी रु. ३० लाख बजेटमध्ये रु. १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिए ।
यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार दुई सय ७२, सुन्तला बिजु तीन हजार दुई सय ५०, कागती कलमी चार सय ६०, कागती बिजु सात सय ९०, निबुवा चार सय ६०, एभोकाडो एक सय ६०, लिची एक सय ६७, मेवा आठ सय २०, केरा पाच सय २८, ड्रागन एक हजार पाच सय र अन्य बिरुवा तीन सय २९ रोपिएका छन् ।
सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सात हजार नौ सय २५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ ।
यसका लागि रु. ६० लाख बजेट रहेकामा रु. ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ ।

