कञ्चनपुर । बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् ।
दुई दशकभन्दा बढी समयदेखि उनले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसकेको छ ।
उनलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सिप, परिश्रम र प्रतिबद्धताले उनको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।
तर सुविधाको कमीले उनको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उनको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न छन् ।
उनले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि दसदेखि २५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् ।
प्रेमले भने, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”
उनको वार्षिक आम्दानी करिब रु. पाँच लाख जति छ । यो आम्दानीबाट उनले दैजीमा दुई कठ्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गरेको हो ।
तर सबै कुरा सहज छैन । उनले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सकेको छैन ।
मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकोले उनले मेसिन खरिद गर्न नपाएको हो । उनी अहिले पनि सबै मूर्ति हातैले बनाउँछन् ।
पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उनी बताउँछन् ।
हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्याउने प्रेम बताउँछन् । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ ।
उनको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उनले भने, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।”
उनका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदूरी गर्दैछन् ।
प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा वीस जना जति श्रमिकलाई काम दिने गरेको छ । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उनी बताउँछन् ।
मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकोमा भने उनी खुसी व्यक्त गर्छन् ।
उनले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाएको छ ।
युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुगेका टमटा त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदूरका रूपमा काम गर्दै सिप सिकेर फर्केको हो ।
“शुरूमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछि-पछि हिँडे”, उनी सम्झन्छन्, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यतिबेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”
भारतबाट फर्किएपछि उनले गाउँमै मूर्तिकला शुरू गरे । अहिले उनी शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउँछन् ।
कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उनकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।
प्रेमले बनाएका मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सिप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उनी भन्छन् ।
दलित समुदायको व्यक्ति भएकोले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उनी असन्तुष्ट भएको बताउँछन् ।
प्रेमका श्रीमती लक्ष्मीले भनिन्, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्याएको उनी बताउँछिन् ।

