काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।
ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुतरुपमा अगाडि बढाएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु. तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिए ।
हाल वनभोजस्थल, बाल उद्यान, बगैँचा, ऐतिहासिक सत्तल/पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनःनिर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् ।
बालबालिकालाई रमाउन/खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।
नगरप्रमुख गिरीले भने, “ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणहरुलाई द्रुतरुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ । यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु. तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको छ ।
बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप रु. तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवर्द्धन हुने छ ।”
नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिए ।
त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।
यसैबीच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणको हालै अनुगमन गर्दै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरे ।
उनले भने, “यो काम नगरपालिका र मेरो व्यक्तिगत प्रतिष्ठासित पनि गाँसिएका हुँदा निर्धारित समयभित्र गुणस्तरीय काम गरेर पार्कमा घुम्न आउनेलाई आहा ! पार्क हुनु त यस्तो पो बनाउनु पर्छ ।”
तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा वि.सं. २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशवशम्शेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए ।
वि.सं. २०२४ मा दर्ता भइ वि.सं. २०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क शुरुवातका दिनमा एक सय १२ रोपनी क्षेत्रफलमा फैलिएका थिए ।
पार्कको चहल-पहल बढ्न थालेपछि समितिले नै वि.सं. २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएका थिए । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले त्रिभुवनको सालिक पोखरी नजिकै छेउमा ढलेका थिए । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएका थिए ।
वि.सं. २०३०/३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।

