नवलपरासी । यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु. आठ लाखसम्म आम्दानी लिने गरेको छ ।
तीनवटा बिरुवाबाट कौसीमा शुरुवात गरेको सो खेती हाल एक सय ३५ वटा गमलामा विस्तार गरेको छ । उनले बारीमा चार सय २४ वटा बोट रोपेको छ । घरमै खान भनी चार वर्ष पहिले शुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।
‘युट्युब’बाट हेरेर प्रभावित भइ उनले कौसीमा ड्रागन फल खेती शुरुवात गरेको थियो । शुरुमा मलेसियन सी भेराइटीको जम्मा तीनवटा बिरुवा रु. दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाएका थिए ।
कौसीमा खेती शुरु गर्दा रु. २५ हजार लगानी लागेको उनले बताए । उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएको छ ।
“मैले शुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउँछन् । यसपालि करिब रु. दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भने ।
गत असार पहिलो सातादेखि उत्पादन शुरु भएकोमा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेको छ ।
बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य शहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएको छ ।
पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकोले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।

