म्याग्दी । यहाँको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।
मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीनवटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घर-घरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
ती आयोजनाबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङका दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुम्पीपारका ५३ घर परिवार लाभान्वित भएको सो वडाका अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए ।
रु. दुई करोड १४ लाखमा निर्माण गरिएका तीनवटै योजनाको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरे ।
गाउँलेले यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए ।
घर-घरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका स्थानीयवासी बलबहादुर रोकाले बताए ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए ।
पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाइ तथा स्वच्छता उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले जानकारी दिए ।
-----

