नवलपरासी । सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दिपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त छन् ।
जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाएका उनी अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै छन् ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ ।
लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागतीखेतीले यतिबेला उत्पादन दिन थालेको छ ।
गत वर्ष सामान्यरूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन शुरु भएको उनले जानकारी दिए ।
यो वर्ष मात्र ५० क्विन्टल कागती बजारमा पठाइ सकिएको उनले बताए ।
कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ ।
“विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरु-अरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती शुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ” किसान चापागाईँले भने ।
उनका अनुसार सबैजसो बोटबाट उत्पादन शुरु भएकोले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ ।
चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागतीखेतीलाई अगाडि बढाएका छन् । कागतीखेती विस्तारका क्रममा रहेको भुसालले जानकारी दिए ।
दुवै जना मिलेर सिङ्चाङमा शुरु गरेको उदाहरणीय कागतीखेतीका कारण यहाँ अन्य किसानसमेत कागतीखेतीतर्फ आकर्षित भएका छन् ।
यहाँ गाउँका अन्य किासनले समेत करिब चार हजार बिरुवा लगाएका छन् ।
सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ । उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन् ।
नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताए ।
कागतीखेतीमा हालसम्म रु. एक करोड बढी लगानी भएको उनको भनाइ छ ।
कागतीखेती शुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन् । स्थायी रूपमा तीन जना कामदार रहेको र समय-समयमा अन्य कामदारसमेत खटाइने गरिएको छ । नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तलाखेतीको समेत थालनी गरेका छन् ।
नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागतीखेतीमा संलग्न छन् ।
नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ । नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ ।
कागतीसँगै नवलपुरमा सुन्तलाखेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’मार्फत नवलपुरमा कागतीखेती प्रवर्द्धन हुँदै आएको छ ।
कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग किराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ । अनुदानले कागती र सुन्तलाखेती गर्नेहरूको सङ्ख्या बढाउँदै गएको उनले जानकारी दिए ।
कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ ।
अहिले कागती प्रतिकेजी रु. ८५ सम्ममा बिक्री हुँदै आएकोले मूल्यसमेत कम रहेको उनको भनाइ छ ।
उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ ।
कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताए ।
यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहजरूपमा बजारीकरणका लागि पहल भइरहेको उनको भनाइ छ ।

