२०८३, कार्तिक १२ गते बिहीबार

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती

     

    नेपालगञ्ज । भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेको छ ।

    जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेको हो ।

    धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकोले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताए ।

    “भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आर्कषण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धानअनुसार च्याउखेतीमा सम्भावना देखेकोले आधुनिक प्रविधि अपनाएको हुँ”, उनले भने ।

    किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकोले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे ।

    “आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती शुरु गरेको छु”, उनले भने ।

    आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् ।

    यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।

    लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका शहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब दुई सयदेखि दुई सय ५० किलोसम्म र मौसममा प्रतिदिन चार सय किलोसम्म च्याउ उत्पादन हुने बताए ।

    “लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भने, “उत्पादित च्याउ हवाइ जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।”

    सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उनले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए ।

    अहिलेसम्म रु. पाँच करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैधरूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतिका रूपमा रहेको बस्नेतले बताए । “भन्सार छलरे आउने च्याउले हाम्रो बजारिकरणमा ठूलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पुर्याइरहेको छ”, उनले भने ।

    करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए ।

    भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएको भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उनले बताए ।

    फार्मको कम्पोष्ट मल उत्पादनमा रु. एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए ।

    उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए ।

    “यसका लागि मैले काम शुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला”, उनले जानकारी दिए ।

    आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुईजना युवाको समेत सो फार्ममा लगानी रहेको बताए ।

    कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु. १६ लाख अनुदान पाएको छ ।

    च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरिय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ ।

    उत्पादन भएको च्याउ रु. दुई सयदेखि रु. दुई सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेको बताए ।

    जिल्ला समन्वय समितिकी उपप्रमुख सिता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताए ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार