२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम

     

    काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

    वि.सं. २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण मन्दिर र सिसामहल निर्माण गरिएको थियो ।

    वि.सं. २०७३ को निर्जला एकादशीमा शिलान्यास भइ २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिर दर्शन गर्न दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी यहाँ घुम्न आउने गरेका छन् । बिदाको समयमा भने यहाँ सर्वसाधारण मन्दिरको दर्शन गर्न सिसामहलको अवलोकन गर्न आउँछन् ।

    बिहान र बेलुका मात्र खुल्ने उक्त मन्दिर मध्याह्न १२ बजेदेखि ३ बजेसम्म बन्द रहन्छ । शनिबार भने बिहानदेखि बेलुकासम्म नै मन्दिर खुला रहने बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिए ।

    पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रिनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ । मन्दिर कलात्मक र सुन्दर छ ।

    “हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउन बृहत शान्तिधाम नेपाल स्थापना गरी मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ”, उनले भने ।

    शान्तिधामभित्र बद्रिनारायाण धाम निर्माण भए पनि रामेश्वरम् धाम भने निर्माण भइरहेको छ ।

    उक्त धाम पनि चाँडो निर्माण सम्पन्न गरेर प्राण प्रतिष्ठा गरिने मठाधीशले बताए ।

    द्वारिकाधीश धाम र जगन्नाथ धाम निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

    कूल एक सय रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास र क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य छ ।

    नेपालमा पहिलो पटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा पनि मेला लाग्छ ।

    शान्तिधाममा दैनिक एक सय भक्तजनलाई आवास तथा भोजनको व्यवस्था गर्ने उद्देश्य भए पनि आर्थिक अभावले समस्या भइरहेको छ ।

    यहाँ दुई वर्ष अघि सिसामहल निर्माण गरिएको हो । सिसामहलबाट हाल मासिक रु. पाँच लाखदेखि दस लाखसम्म आम्दानी भइरहेको मठाधीसले जानकारी दिए ।

    शान्तिधाम परिसरमा बन्न लागेका संरचनाका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको उपप्रमुख सिर्जना बुर्लाकोटीले बताए ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार