२०८३, कार्तिक १३ गते शुक्रबार

डोको बिक्रीबाट मासिक ४० हजार आम्दानी

डोको बिक्रीबाट मासिक ४० हजार आम्दानी


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • डोको बिक्रीबाट मासिक ४० हजार आम्दानी

     

    भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्द्रबहादुर तामाङले डोको बिक्रीबाट मासिक रु. ३५ हजारसम्म आम्दानी गर्दै आएको छ ।

    प्रविधिको विकाससँगै गाउँ-घरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोको बिक्रीबाट मासिक रु. ३५ हजारसम्म आम्दानी गर्दै आएको हो ।

    स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकोले आफूले बुनेका डोको भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए ।

    डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोको बुनेर बिक्री गर्दै आएको बताउँदै उनले एकदिनमा दस वटासम्म तयार हुने जानकारी दिए ।

    “निकै लामो समयदेखि डोको बुन्ने काम गर्दै आएको छु”, तामाङले भने, “एक दिनमा आठदेखि दसवटासम्म डोको बुन्छु । डोको बिक्रीबाट मासिक रु. ३५ हजारसम्म आम्दानी हुन्छ ।”

    उनका अनुसार स्थानीय बजारमा प्रतिवटा रु. तीन सय ५० देखि चार सयसम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु. सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

    “डोको बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भने, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु. आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु. तीन लाखदेखि रु. चार लाखसम्म आम्दानी हुन्छ ।”

    आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति)का डोको जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ ।

    मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोको तयार गर्न सकिने उनको भनाइ छ । डोकोका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए ।

    सामुदायिक वनले कडाइ गर्ने भएकोले कच्चा पदार्थ जुटाउन समस्या रहेको तामाङले बताए ।

    मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उनको भनाइ छ ।

    आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायत कच्चा पदार्थबाट डोको बुन्दै आएको तामाङले जानकारी दिए ।

    प्रविधिको विकाससँगै गाउँ-घरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सिप हराउँदै गएकोले यसको संरक्षण गर्न आवश्यक रहेकोले यसलाई निरन्तरता दिएको तामाङले बताए ।

    गाउँ-घरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उनले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उनले धारणा राखे । परम्परागत पेसालाई व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार