कञ्चनपुर । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् ।
खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन ।
“बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्छन्, “भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ ।”
वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनी बताउँछन् । वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ ।
थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङ्गल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी । भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकोले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउँछन् ।
“हामीलाई थाहा हुन्छ” किसान चौधरीले भने, “कुन च्याउ(भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौदेखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उनी बताउँछन् ।
उनका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो । “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरी भन्छन् । कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातीको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ ।
वर्षातमा पाइने भेंम्टी एकै ठाउमा धेरै पाइन्छ । “वनका सबै ठाउमा भेंम्टी पाईदैन” ६८ वर्षीय परदेशी डगौराले भने, “कुन-कुन ठाउँमा भेंम्टी पाईन्छ, कुन बेला पाईन्छ, त्यो कुरा बुढापाकाहरुलाई र उनीहरुको संगत गर्नेहरुलाई मात्रै थाहा हुन्छ ।”
“यो वर्ष जुन ठाउमा भेंम्टी पाइयो, अर्को वर्ष पनि त्यही ठाउँमा भेंम्टी पाइन्छ, ठाउ चिन्न सक्नु पर्यो, विशेष गरी भेंम्टी औंसी र पूर्णिमाका दिन उर्मिने गरेको बुढापाकाहरुबाट सुनेको छु” उनी भन्छन् ।
उनका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरु र उच्चरक्तचापबाट छुटकारा पाइन्छ । विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाइन्छन ।
थारु समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्कीने विशेष परिकार पनि हो ।
दशैं, अष्टमीजस्ता पर्वहरूमा पाहुनाहरुका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात र मासुसँगै पस्किने गरिन्छ । “भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,” अनुभवी थारुहरू भन्छन्, “धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठीक गर्दछ ।”
सही भेंम्टी छुट्याउने कला थारु समुदायमा पिंढी दर पिंढी सर्दै आएको छ ।
थारु समुदायका बुढापाकाहरुका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ । “नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने र अलिक फरक रङ्गको हुन्छ, देख्ने बित्तिकै थारु आँखाले चिनिहाल्छ” चौधरी भन्छन् ।
च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ । बोसोको मात्रा निकै न्यून हुने भएकोले पचाउनका लागि सहज हुने उनको भनाइ रहेको छ ।
“थारु समुदायले प्राचिन कालदेखिनै च्याउलाई तरकारीका रुपमा पकाएर खान थालेका हुन” उनले भने, “अहिले पनि जारी राखेका छन्, वन क्षेत्र संरक्षण गरिंदा भने सहजरुपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पिंढीले भेंम्टी टिप्न छाड्दै गएका छन ।”

