२०८३, कार्तिक ११ गते बुधबार

नेपाल-बेलायत श्रम सम्झौताको मस्यौदा एक साताभित्र तयार हुने 

नेपाल-बेलायत श्रम सम्झौताको मस्यौदा एक साताभित्र तयार हुने 


  • मेरोभ्यूज
  • माघ १, २०७८ शनिबार

  • नेपाल-बेलायत श्रम सम्झौताको मस्यौदा एक साताभित्र तयार हुने 

    काठमाडौं । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । 

    नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दुतावासका अधिकारीहरु सम्मिलित पहिलो बैठकले एक साताभित्र श्रम सम्झौता (एमओयू)को मस्यौदा तयार गर्ने सहमति जुटेको छ ।

    नेपाल र बेलायतबीच सरकारीस्तर (जीटुजी)बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्नेछ भने छात्रवृति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायत सरकारले जनाएको छ । 

    नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन । छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । यद्यपि उक्त अवधिमा पनि सहायक नर्सको रुपमा रोजगारी भने सुनिश्चित हुनेछ ।

    रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिन्छ । बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हो । मन्त्री श्रेष्ठले  युरोपका उच्च आय हुने मुलुकहरुसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने बताएका छन् ।  

    श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभुति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ ।


    प्रकाशित : शनिबार, माघ १ २०७८०७:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार