ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको एक हजार छ सय वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुन:निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टिकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन शहरमा रहेका ढुङ्गेधारामा पानी झर्थ्यो ।
अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुन:जीवित गरिरहेको छ ।
जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो ।
वि.सं. २०६० मा विद्यालयले व्यावसायिक परियोजनाअन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण शुरू गरेपछि स्थानीयहरूले पुनः विरोध जनाए ।
सोही समयमा लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष पूर्ण स्थापितको नेतृत्वमा सप्तापातल पोखरीको संरक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।
सर्वोच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र तेजबहादुर केसीको इजलाशले विद्यालयले उपभोग गर्दै आएको कित्ता नम्बर ११२ को जग्गा गैरकानूनीरूपमा विद्यालयको नाममा बनाइएको ठहर गर्दै २०७६ साल असार २३ गते मुद्दाको फैसला गर्यो ।
सोह्र वर्षसम्म मुद्दा लडेर पोखरीलाई पुनःस्थापित गराउन सफल भएका सप्तापातल पोखरी पुन:निर्माण उपभोक्ता समितिका अध्यक्ष, ८० वर्षीय पूर्ण स्थापित भन्छन्, “यो निकै ऐतिहासिक पोखरी हो । यसको सम्बन्ध पाटन शहरको पानी र रातो मच्छिन्द्रनाथको भोटो जात्रासँग जोडिएको छ । त्यसकारण यसको पुन:निर्माण र संरक्षण गर्नु हाम्रो दायित्व हो ।”
सप्तापातल पोखरीसँगै रहेको कमल पोखरी (पलेस्वाँ) को ३० रोपनी जमिन राजदल गण ब्यारेकको कम्पाउण्डभित्र रहेकोले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पहलमा त्यसलाई मुक्त गरियो ।
प्रमुख महर्जनले बाल्यकालमा सप्तापातल र कमल पोखरीमा पौडी खेलेको सम्झँदै भने, “अब पोखरी स्थापित हुन्छ, फेरि कमल फुल्छ ।”
सप्तापातल पोखरी र रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्ध
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीबाट शुरू हुने यो जात्रा तिथिअनुसार महिनौंसम्म चल्ने गर्छ । पुल्चोकबाट रथारोहण गरिएपछि रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई पाटन, सुन्धारा, लगनखेलहुँदै जावलाखेल पुर्याइन्छ । त्यसपछि राष्ट्रप्रमुखबाट भोटो देखाउने परम्परा रहेको छ ।
भोटो देखाएपछि जलपानेजु पुजारीहरूले सप्तापातल पोखरी छेउको मान्साहिटीमा पूजाआजा गर्छन् । त्यसपछि छेउमै रहेको बुटुकभैरव मन्दिरमा एक जोडी भँगेरा छाड्ने चलन छ । मान्यताअनुसार ती भँगेराले रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएको सन्देश स्वर्गका राजा ईन्द्रसम्म पुर्याउँछन् ।
त्यसैगरी, सप्तापातल पोखरीमा दुईवटा माछा छाड्ने परम्परा पनि रहिआएको छ, जसले जात्राको समापनको सन्देश पातालका राजा कर्कोट नागराजासम्म पुर्याउने विश्वास गरिन्छ । पोखरीमा वर्षौंदेखि पानी नहुँदा परम्पराअनुसार खाल्डो खनेर माछा छाड्नुपर्ने बाध्यता थियो । यसैले पुजारीहरू विधिपूर्वक माछा छोड्न पाएका थिएनन् ।
काठमाडौँ उपत्यकाको यो ऐतिहासिक जात्रा सप्तापातलबाट जोडी भँगेरा उडाएपछि र माछा छोडेपछि औपचारिकरूपमा समापन भएको मानिन्छ ।
त्यति मात्र होइन, पाटनस्थित ढुङ्गेधारामा पानी झार्न पनि सप्तापातल पोखरीको महत्वपूर्ण भूमिका रहेको ललितपुर महानगरपालिका प्रमुख महर्जन बताउँछन् ।
कस्तो बन्दैछ सप्तापातल पोखरी ?
पोखरीलाई परम्परागत शैलीमा पुन:निर्माण गरिँदैछ । सप्तापातल र कमल पोखरीको पुन:निर्माण गर्दा कूल लागत रु. १५ करोडसम्म लाग्न सक्ने पुन:निर्माण उपभोक्ता समितिका सदस्य किरणकुमार स्थापित बताउँछन् ।
हालसम्म करिब रु. आठ करोड खर्च भइसकेको छ । अब केही हप्ताभित्र पोखरीमा पानी हाल्ने तयारी भइरहेको र पूर्णरूपमा सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।
दश फिट गहिराइको पोखरीमा इँटा बिच्छ्याइएको छ र चुना, सुर्की, कालो माटो, बालुवा र ढुङ्गा मात्र प्रयोग गरिएको छ । इञ्जिनियर राकेश महर्जनका अनुसार पोखरी जीवमैत्री स्वरूपमा निर्माण गरिएको हो ।
धेरै पोखरीहरू खाल्डोजस्तो हुने भएकोले जैविक प्राणीहरू बाहिर निस्कन सक्दैनन्, तर यस पोखरीमा भने विभिन्न प्रजातिका किरा, भ्यागुताजस्ता जीवहरू माथि आउन सक्ने व्यवस्था गरिएको छ । उनीहरूको सुरक्षाका लागि मानव आवत-जावत नहुने छुट्टै क्षेत्रसमेत बनाइएको छ ।
पोखरीमा ढुङ्गेधारामा पानी झार्न सिमेन्ट प्रयोग गरिएको छैन । जैविक प्राणीका लागि कङ्क्रिटविहीन संरचना बनाएकोले वातावरणमैत्री रहनेछ ।
पोखरीको चारैतिर पुल्चोकमा जस्तै फलामको बार लगाइएको छ, जसबाट बाहिरबाट पोखरीको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ ।
पुन:निर्माणपछिका सांस्कृतिक पर्वहरू यथावत्रूपमा सञ्चालन गरिनेछन् ।
आगन्तुकहरू पोखरी वरपर मौलिक शैलीमा निर्माण गरिने पाटीहरू (फल्चा)मा बसेर आराम गर्न र दृश्यावलोकन गर्न सक्नेछन् । पोखरीमा पानी सञ्चित गर्न राजकुलोमार्फत टिकाभैरवबाट पानी ल्याउने योजना अगाडि बढाइएको छ ।
इञ्जिनियर प्रतिप पौडेलका अनुसार सप्तापातलदेखि सुनाकोठीसम्मको करिब तीन किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । ललितपुर महानगरपालिकाभित्रको काम चालु आ.व.भित्र सकिने र माथिल्लो करिब आठ किलोमिटरखण्डको काम सम्पन्न हुन केही वर्ष लाग्ने बताइएको छ ।

