बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिकरुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ ।
परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ ।
चक्लाबन्दी भएको जमिनमध्ये रु. एक करोड लगानी गरेर सात हेक्टरमा सुन्तला, १२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए ।
उक्त कार्यालयले ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती शुरु गरेको छ । गत आ.व.मा दुई सय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन् ।
नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएका उनले बताए ।

