म्याग्दी । बेनी नगरपालिका-९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका, डाला थुन्से, ढाकर बनाउँछन् ।
बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक रु. १२ हजार आर्जन गर्दै आएको छ । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यहि रकमबाट हुँदै आएको छ ।
उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सिप भर्न थालेको हो । डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।
विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन् ।
“विगतमा बजारमा बेच्न जानुपर्थ्यो अहिले घरमै ग्राहक आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए ।
परियारले दैनिक पाँचवटासम्म डोका बुन्ने गरेको छ । एउटा डोको रु. दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको छ ।

