२०८३, कार्तिक १२ गते बिहीबार

सभापोखरीका चार सय घरमा खानेपानी

सभापोखरीका चार सय घरमा खानेपानी


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • सभापोखरीका चार सय घरमा खानेपानी

     

    सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-१ र २ वडाका चार सय घरधुरीमा ‘एक घर, एक धारा’को पहुँच पुगेको छ ।

    सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म सात सय २८ घरधुरीमध्ये चार सय घरमा धारा जडान भइसकेको छ ।

    पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ ।

    दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छिन ।

    त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झदै भन्छन्, “अहिले बिहान-बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।”

    धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।

    परियोजनाअन्तर्गत छ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ ।

    स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले जानकारी दिए ।

    परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मतलगायत प्राविधिक तालिम दिइएको छ । यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ । अन्य वडासमेतमा परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार